Saturday, May 18, 2013

आर्यघाटमा आफ्नो फोटो आफैले

आर्यघाटमा आफ्नो फोटो आफैले


हिजो बेलुका छिटै सुतेकोले आज २०७० साल जेठ ४ गते बिहान चाँडै नींदले छाड्यो । सधैं अल्छी गरेर भएन भनेर नुहाएँ । बत्ती आएकै थियो । फुरसदनानीलाई भेटौं भनेर यसो ल्यापटप खोल्दै थिएँ बूढीको मोबाइल बज्यो । के के कुरा गरे कुन्नि । फोन भाइबुहारी हिराको रहेछ । सरबाटामुनि नगेन्द्रबहादुर दाइकी श्रीमती हस्पिटलमा बितिछन् । हामी त पशुपति आर्यघाटमा आएका छौं, सूचना गर्नलाई फोन गरेको भनिछन् । यही कुरा थाहापाए पछि म पुगेर आउँछु भनेर कपडा लगाएँ । भाइ शालिग्रामलाई फोनामा सोधें । उनले भने "अँ हो हामी पशुपति आएका छौं । हस्पिटलबाट लगिसकेहालान् भनी आयौं ।" म हिड्नेबेलामा हिडेको मेरो बूढीले म पनि जान्छु भनेकोले दुबै निस्कियौं । घरको माथिल्लो तलामा भान्सा कोठा थप्न लागेको, काम गर्ने महिलालाई हामी जान्छौं, रेखदेख पनि गर्नु, काम गर्नु भन्यौं । आडमा घर बनाउन लागेका छिमेकी र्इश्वर खतिवडालाई पनि "हामी हुन्नौ, आर्यघाट पुगेर आउने बेलासम्म रेखदेख गर्नु होला" भनी गेट खुला छाडेर ढुंगेधारा चोकमा गयौं । चक्रपथको गाडीमा चढी गौशालामा झर्‍यौं । छिटो छिटो पाइला चाली आर्यघाटको लाश जलाउने ठाउँ हेर्दै हिडयौं । शालिग्रामलाई फेरि सोधें कता छौ तिमीहरु?- पुलको देब्रेतिर बताए पछि त्यतै गयौं । लाशलाई वाग्मतीको किनारमा सुताएर जल दिंदै थिए । हामीले पनि जल दियौं । मन एक तमासको भयो । त्यो बेला मेरो फोटो खिच्ने कोही थिएन । अरुले लाशको फोटो लिएको देखेपछि बल्ल मैले पनि त्यो क्षणलाई फोटोमा राखने विचार आयो र मोबाइलमा लाश र वरपर उभिएका मलामीहरुको फोटो लिएँ । आफ्नो पनि अनुहार हरेन एउटा फोटो लिएँ । मलामी धेरैजसो चिनेका नै थिए । कोही धेरै समयसम्म भेट नभएका व्यक्तिहरुसंग पनि भेट भयो । स्थूल शरीर जलेर खरानी भयो । फोटो बाहेक मृत शरीरलाई संरक्षण गरेर राखने प्रविधि भए पनि आफ्नो रीति परम्परा अनुसार विभिन्न धर्म मान्ने व्यक्तिहरुले जलाउने, नदीमा गाड्ने, चिहानमा स्तम्भ उठाउने र कुनै जातिले त काटेर गिद्धलाई खुवाउने समेत गर्छन् । जनसंख्या बढ्दै गएपछि चिहान गाड्ने ठाउँको पनि अभाव हुन थाल्यो । अन्य विकास निर्माणका काममा महत्व राखने स्थलहरु चिहानले आगटेपछि चिहानडाँडा, पाखा र चौरहरुको वैज्ञानिक तरीकाले सदुपयोग गरी वस्ती र कार्यालयहरु बसाल्ने वा आवादी गर्नुपर्ने बेला आएको छ । रीति, परम्परा समय सापेक्ष हुन्छन् र बनाउनु पर्छ भन्ने बेला आएको छ । वास्तवमा यसो गर्नु पनि पर्छ । वि.एल.को परीक्षाका लागि पढ्दा How much land does a man need? भन्ने कथा पढेको सझे । हो लोभले थुप्रो जमीन लिन्छु भने पनि मर्दा चिहानको खाल्डो नै उसको लागि पर्याप्त भयो । यहाँ त चिता जलिसक्यो जमीनको टुक्रा पनि चाहिएन । नदीमा अस्तु घुसाइ दिए भयो । समयको अन्तरालमा अरुकुरा यथावतै भए मेरो चिता हेन पनि सूचना र समय पाएमा आफन्तहरु आउने थलो पनि यही नै त हुने होला । बागलुङबाट काठमण्डौं बसार्इ  सरेर आएका साथीहरुसंग पनि यस्तै कुरा भयो । हाँसो, गाम्भीर्यता, यथार्थता र भावुकता सबै मिसिए । संझें बागलुङ छाडेर काठमाण्डौं आएको ५ महिना बितिसकेछ । २०६९ साल मंसीर २२ गते कुम्लो, कुटुरो, हाँडा, भाँडा ट्रकमा लादेर साँझमा आएर नयाँ गूँडमा बस्न थालेको हो । कसैका रीसले धनी, चोर, ढटुँवा, छली, कपटी, रण्डीबाज, सिद्धान्तहीन, भतुवा, लुम्रे वा झुम्रे जे भए पनि भइयो होला । २०३४ साल देखि सत्तो सराप्नेहरु र खेदो खन्नेहरुले त चिता देख्दा वा मर्‍यो भन्ने सुने पछि खुशी पनि होलान् । तर म भित्रको मान्छले त्यस्तो सोचेको छैन ।
चितामा आगोको लप्का देख्दाको भावना, भट्टीमा बोतल भर्ने कान्छी देख्दाको भावना एउटै हुँदैन । विज्ञानले मन र भावनालाई तहलाउन सक्ने अवस्था नआएसम्म आध्यात्मको पाटोलाई नअंगाली सुख छैन । आध्यात्मको बारेमा मेरो कतै छुट्टै खण्डकाव्यको अंश पनि हेर्नु हुनेछ ।
पशुपतिनाथको मन्दिर तिर नगएको पनि धेरै वर्षभएको थियो । दश दिन भित्रमा दुर्इ चोटि मलामी बनेर आउनु पर्‍यो । बैशाख २७  गते गल्कोटका कृष्णप्रसाद सुवेदीकी आमाको वीर हस्पिटलमा फोक्सोको क्यान्सरको उपचारकै क्रममा मृत्यु भइ आर्यघाटमा दाहसंस्कार भएको थियो । वहाँको आमालाई एक चोटि हस्पिटलमा देख्न जानु पर्ला भन्ने थियो । म काठमाण्डौं आए पछि कृष्णप्रसाद सुवेदीसंग चिनजान भएको हो र्।र् इश्वर खतिवडाले खबर गरी वहाँको मोटरबाइक र पछि भरत धमलाको मोटरबाइकमा आर्यघाट पुगेको थिएँ । वहाँको आमालाई एकचोटि हस्पिटलमा देख्न जानु पर्ला भन्ने थियो आखिर आर्यघाटमा जलेको चिता देख्न पुग्नु पर्‍यो । यसचोटि पनि भाउजूलाई पनि जीउँदो रहँदा भेटन सकिएन । जिन्दगी एउटा नाटकनै हो । यो रंगमञ्चमा सबैले आफ्नो आफ्नो भूमिका निर्वाह गर्नु पर्छ । हिरो, हिरोइन, लडाकू, चोर, डाँका आदि सबैको भूमिका खेलिरहेका छौं । आफ्नो आफ्नो नाटकको पार्ट एक दिन सकिन्छ । कोही दुर्घटना वा कोही ओछ्यानमा बेरामीको नाटकसंगै आर्यघाट वा नदी खोला वा चिहानमा पुग्छौं । मान्छेलाई सान्त्वना दिन पर्ूवजन्म, पर्ुनर्जन्मका कथाहरु रचिएका छन् । यी पनि नाटक भित्रका नाटकहरुनै हुन् । आफ्नो आफ्नो नाटकको भाग, जिन्दगीका दृश्यहरुको पर्दा उघारिएको छ । एक अर्कोको दर्शक बनिरहेछ । अझ उपग्रहबाट हेर्दा पृथ्वीका मानिसहरुको नाटक अचम्मलाग्दो देखिन सक्छ । यही नाटक मञ्चन गर्ने गराउने भेउ नपाएर विज्ञानले खोजी गर्दैछ, नाटक गर्ने मान्छेले इश्वर सुजना गरी नाटको पात्रको रुपमा भूमिका खेलिरहेको छ । नाटक भित्रै मेरो यो भावना उब्जिरहेछ । अनुभूतिसंगको मेरो यो नाटक आध्यात्म हो । तपाईं विज्ञानले निकाल्ने कसीको प्रतीक्षामा रहनुहोला । मेरो संवेग, समवेदना, सहानुभूति र समानुभूति विज्ञानले नाप्न सकेको छैन । यही अथाह अपरिमिततानै मेरो आध्यात्म हो । कृष्णजीको आमा र भाउजू दुबैलाई मेरो हार्दिक श्रद्धाञ्जली । शोकसंतप्त परिवारजनप्रति हर्दिक समवेदना ।
 

No comments:

Post a Comment