Tuesday, July 26, 2016

यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।

यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।
यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।
सिमाना भत्किए बाँध मनोदेश विचारमै ।।
मनको राज्यमा त्यस्तै आयो विश्वास संकट ।
उर्लेर भावका अश्रु कपोल ओध्रिए तट ।।
विचार बोकने यैाटा जीर्ण यो देह पार्थिव ।
सिमाना राज्यका काटी उडी पातालमा अब ।।
उता हिमाल झल्किन्छ, भानु अस्त  यता हुँदा ।
सूर्यमुखी यता फुल्छ, उता मुन्टो बटारदा ।।
यस्तो यो मनको देश नेपाल रम्य सुन्दरी ।
भन्छन् भूगोल हाम्रो यो खगोल दिलको परी ।।
पिर्का नेपालको सारी अमेरिका बसे पनि ।
उही घन्टी बजिहाल्छ भान्सा भित्र पसे पनि ।।
ए कान्छा कहिले आईस्? पधेंरो, बाटो, आँगन ।
निहुँमा भेटघाट हुन्थ्यो, दिन क्यै, अनि मागन ।।
हेलो ! बाहेक यता बोल्ने को छ? वल्तिर पल्तिर ।
महिनैां परिचित हुन्नैां बस्छैां आकाश मन्तिर ।।
सभ्यता, नव सँस्कृति भित्र रम्न सिकिन्छ नै ।
सिर्जना भित्रका मान्छे, मान्छेको भाव हुन्छ नै ।।
सिमाना मनको छैन विश्व मानवको कथा ।
यैाटा मानवले बुझ्छ भूगोल भित्रको व्यथा ।।
उता छन् गोठका पाडी नोटका गाडी छन् यहाँ ।
धूँवा, धूलो उता खप्ने, यता स्वच्छ जहाँ तहाँ  ।।
तान्ने वस्तु यता धेरै, घच्याट्ने छन् सबै उता ।
बुद्ध राख्ने उता मन छ, ज्यान भन्छ बसैां यता ।।
खालि विचारका बाँध मनको पैरो रोकने ।
आशावादी बनी यैाटा मन विश्वास बोकने ।।
बोकी मानवता भित्रै, छाडी भूगोलको सिमा ।
गरी निर्वाहका काम बिताउँ दिन व्यस्तमा ।।

No comments:

Post a Comment