Friday, November 23, 2012

Umanath Chhatrabriti Prativa Puraskar Sanstha


उमानाथ छात्रवृत्ति प्रतिभा पुरस्कार संस्थासंगै एक आत्मा बोलिरहेको छ।

डा. प्रेमप्रसाद शर्मा
उमानाथ छात्रवृत्ति प्रतिभा पुरस्कार संस्थाको प्रसंगले मैले विगतलाई संझे । यस संस्थासंगै एक आत्मा बोलिरहेझैं लाग्यो । हामी सानो केटाकेटीमा पढ्दा त्यतिबेला जुनियर हाइस्कूल थियो । विद्यालयमा को को आउँथे र जान्थे, र्सार्वजनिक रुपमा के के गतिविधिहरु हुन्थे ती बारे हामीहरुलाईृ थाहा हुन्थ्यो । विद्यालयमा आउने व्यक्तिहरु मध्ये एक जना कमीज, सुरुवाल, टोपी, जुत्ता लगाएको, मोटो, होचो कदको, अनुहारमा केही काला कोठीहरु भएको, लठ्ठी टेकेको, सरल, सहज, निर्दोष, सहयोगी, भव्य, आकर्ष व्यक्तित्व हामीले बराबर देखिरहन्थ्यौं । हामी विद्यार्थीहरुलाई त्यहाँ पढ्ने आत्माराम शर्मा र शाल्रि्राम शर्माका पिता हुनुहुन्छ भन्ने थाहा थियो । सबै विद्यार्थीहरुको श्रद्धाभाव थियो । आत्माराम शर्मा र शाल्रि्राम शर्माले पछि हामीलाई पढाउनु भयो त्यसैले उहाँहरु मेरा गुरुहरु हुनुहुन्छ । केही समय पछिसम्म मेरो कान्छो मामा टीकाराम र म संगै पढ्यौं । मामाले भनेर मैले थाहा पाएको थिएँ कि आत्मारामको ठूला दाजू भारतमा गएर गाई पाल्ने आदि व्यवसाय गरेर प्रशस्त धन कमाउनु भएको छ । अझ एउटा प्रसंग अहिले संझे कसैलाई सोधेको छैन, मामाले भन्नु हुन्थ्यो श्याल कराउँदा उसले सिंग ओकलेर कराउँछ रे, अनि त्यो सिंग जसले फेला पार्छ उसले धन कमाउँछ । उमानाथ उपाध्यायले त्यो श्यालको सिंग फेलापारेकोले धन कमाउनु भएको हो । यो किंवदन्ती आज प्रसंगले मात्र संझे । उमानाथ उपाध्यायको माइला छोरा हरिराम शर्मा मामासंग आईरहने भएकोले वहाँलाई सानै देखि देखेको थिएँ । हरिराम र रत्नाकरजीहरु प्ाछि रात्रीस्कूलबाट शिक्षा लिनु भएको थियो । उमानाथज्यूका अन्य छोराहरु प्रकाश शर्मा, मुक्ति शर्मा र नारायण शर्मा र नाति मुकुन्द शर्मा म पछि शिक्षक भए पछि सर्ंपर्कमा आउनु भयो । तोरणसंग केही समय काम पनि गरें र दिपेन्द्रलाई पनि देखेको छु अरु पछिका सबै नानी, बाबुहरुलाई त देखे जानेको छैन ।

हामीले कलाधर र उमानाथलाई चिन्ने बाटो विद्यालय र विद्यार्थी भएकै कारण थियो । शिक्षाको विकास र शैक्षिक समस्या समाधानमा तत्कालीन प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा र उमानाथनै हुनुहुन्थ्यो । विद्यालय प्रांगण वा बैठककक्ष जहाँ पनि भेट हुँदा डिल्लीप्रसादले पुरानो परंपरा अनुसार कलाधर र उमानाथका खुट्टा ढोग्नु हुन्थ्यो । मलाई पल्लाछेया -पल्लाछेउ) भवानीकी माइली दिदीका छोरा भनेर डाँडाका नन्दलाल जैसी -कबेली नामले उहाँ चिनिनु हुन्थ्यो)ले चिनाइ दिनु भएको थियो । भवानी मामाको कारण मलाई पनि आफन्त जस्तो संझनु हुन्थ्यो ।

एउटा छोटो आलेख तयार पार्ने शिलशिलामा उमानाथ उपाध्यायले सामाजिक तथा शिक्षा विकासको क्षेत्रमा गरेको योगदानको सम्बन्धमा हंसवाहिनी पुस्तकालयबाट प्रकाशन हुने करुणाका अंकहरु र हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान र शिक्षा एवं समाजसेवी हेमराज शर्मा पौडेलसंग सम्बन्ध राख्ने दस्तावेजहरुको संगालोका दुबै भागहरु उपलब्ध भएकोले हेरी सोही आधारमा उमानाथ उपाध्यायलाई कसले कुन रुपमा लिनुभएको छ र हेमराज शर्मा स्वयंले कुन रुपमा सहकार्य गर्नु भयो टिपोट गरेको छु ।

करुणा -बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस) स्मारिका २०५४मा पैयुँपाटामा शिक्षाको विकास एक संस्मरणमा हेमराज शर्मा लेख्नुहुन्छ - ""२०१५।२।२२ गते
हेमराज, कलाधर, उमानाथ, पूर्णप्रकाशहरु भएको जिल्ला विकास बोर्डको बैठकमा भाग लिन आ.स. माग्न बागलुङ गएका ... । ... जिविस बोर्डबाट आ.स. ५००। हेमराज, कलाधर, उमानाथ उपाध्यायबाट १।१ हजार, पदमपाणि शर्मा ३००। नन्दलाल पाध्या-ठूलाखेत, खडानन्द पाध्या-सातविसेबाट १।१ सयको कोष जम्मा गरी विद्यालय चलाउने, भवन बनाउने आदि कार्य गर्न थालिएको हो । -पेज -३) । ०१७।४।११ गते म, पर्ूण्ाप्रकाश, कलाधर, उमानाथ उपाध्याय समेत बसेर ....। अब अर्थ संचय गर्ने र मिडिल स्कूल चलाऔं भन्ने पहिलो सल्लाह भयो । २०१७।४।१५ गते ... ... व्यवस्थापक- हेमराज शर्मा, सेक्रेटरी-सु. नयनसिंह खत्री, र ६९ जना सदस्य भएको मिडिल स्कूल समिति गठन भयो । २०१७।४।१७ गतेको बैठकमा मिडिल स्कूल संचालक समिति १५ जनाको गठन भयो । सभापति - श्री गौरीप्रसाद श्रेष्ठ, बडाहाकिम, बागलुङ गौंडा, उपसभापति- कलाधर शर्मा, सेक्रेटरी व्यवस्थापक-हेमराज शर्मा, ... ... ... कोषाध्यक्ष- उमानाथ उपाध्याय, ...... ।"


त्यसैगरी हेमराज शर्माले शिक्षा एवं समाजसेवी हेमराज शर्मा पौडेलसंग सम्बन्ध राख्ने दस्तावेजहरुको संगालोमा लोकाः समस्ता सुखिनो भवन्तु धन्यवाद शीर्षकमा -पेज ९) लेख्नुहुन्छ -"मलाई राजनैतिक, शैक्षिक, सामाजिक क्षेत्रमा कार्यरत रहेर देश एवं जनता जनार्दनको सेवा गर्नु नै धर्म हो भनेर प्रेरणा उत्साह दिने मध्येका अग्रजहरु ओमप्रसाद गौचन- बागलुङ बजार, पं. भवानीप्रसाद उपाध्याय -बलेवा, कैया, कालीभक्त पन्त - पर्वत फलेवास, शेरबहादुर शेरचन- म्याग्दी दरबाङ, मोहनबहादुर मल्ल- पर्वत मल्लाज, श्रीभद्र शर्मा- तनहूँ, कलाधर शर्मा- पैयुँपाटा, उमानाथ उपाध्याय- अँधेरीखोला, .... ... ... हुनुहुन्थ्यो ... । " त्यसैगरी उहाँले हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान पुस्तकको ४२ पेजमा अन्तर्वार्ताको प्रसंगमा स्व. कलाधर पाध्या पछि स्व. उमानाथ शर्मा, पैयुपाटा ३, भनेर दोश्रो नम्बरमा स्मृतिपटलमा रहेका समाजसेवी मित्रहरुको नाम भनेर दिनु भएको छ ।


हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान पुस्तकमा नै -१४२ पेज) वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा पौडेलले लेख्नुभएको छ - "यसरी अहोरात्र शिक्षा सेवामा लागेका एक अथक कर्मयोगीले आफ्नो कदममा साथ दिने उमानाथ शर्मा अँधेरीखोला, कलाधर पाध्या, ठूलाखेत जस्ता स्वर्गीय भैसकेका व्यक्तिहरु ... ... ... भूपति शर्मा ... ... सहयोग पाउनु भएको छ ।" यही पुस्तकमा हेमराज शर्मा पौडेलको व्यक्तित्व र योगदान शर्ीष्ाकमा यम ढुंगाना -यमबहादुर केसी - नेपाने) ले लेख्नुभएको छ -२१५ पेज) - "उहाँलाई प्रायः नजीकबाट राय सल्लाह र सहयोग प्रदान गर्ने प्रायः प्रधानपञ्च हुने कलाधर शर्मा र अँधेरीखोला उमानाथ शर्मा हुनु हुन्थ्यो ।"

हेमराज शर्मा पौडेलको व्यक्तित्व एवम योगदान बारे एक चर्चा र विश्लेषण शीर्षकमामा -पेज २४०) लीलानाथ रेग्मी लेख्नुहुन्छ - "त्रिमावि पैयुँपाटाको उत्थानको लागि उहाँलाई सक्रियतासाथ सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो उमानाथ शर्मा पौडेल -अँधेरीखोला), कलाधर शर्मा -ठूलाखेत), पदमबहादुर क्षत्री -टारी), प्रअ डिल्लीप्रसाद शर्मा -वरडाँडा), उमानाथ शर्मा पौडेलले त ठूलो आर्थिक सहयोग पनि गर्नु भएको थियो । "
कर्मयोगी व्यक्तित्व श्री हेमराज शर्मा शीर्षकमामा -२१५ पेजमा) उमानाथ उपाध्यायका काईलाछोरा शाल्रि्राम शर्मा जसले हेमराज शर्माका कृयाकलापलाई परिवारमा सानैबाट चिन्ने र नियाल्ने मौका पाउनु भयो उहाँले लेख्नुहुन्छ - "हेमराज शर्मालाई सरकारी सेवाबाट राजीनामा गर्न लगाई आफ्नो जन्मस्थानबाटै सेवाको क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिने धेरै श्रद्धेयमहानुभावहरु हुनुहुन्छ । वहाँहरु मध्ये कतिपय यस संसारबाट सदाको लागि विदा भैसक्नु भएको छ भने केही व्यक्तित्वहरु अझै पनि अधिपछि लागि रहनु भएको छ । उहाँहरुको नाम स्मरण गर्नु सान्दिर्भिक नै हुन्छ । जसले ज्यादै कठिन सामाजिक, आर्थिक र व्यवहारिक समस्या पर्दा हेमराज गुरुलाई तन, मन, धन, बल र बुद्धिले मद्दत गर्नु भएको थियो । ... .... ती स्वर्गीय व्यक्तिहरु हुन् - उमानाथ उपाध्याय, पैयुँपाटा-३, अँधेरीखोला, कलाधर उपाध्याय, पैयुँपाटा-२, ठूलाखेत, तुलसीराम शर्मा, पैयुँपाटा-१, सातविसे, नन्दलाल जैसी, पैयुँपाटा-२, डाँडा रेग्मीफाँट, खडानन्द रिजाल, पैयुँपाटा-६, घडेरी, ... ... । "

हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान पुस्तककै -पेज १११) हेमराज शर्मा पौडेलः बलेवाका ज्योति शीर्षकमामा उमानाथको प्रसंगमा तारा प्रकाश पौडेलले लेख्नुभएको छ - "वरिपरिबाट ठोकिएका सापाहरुको भरलेनै मियो बलियो बनेको हुन्छ, त्यस्तै भूसविनाको चामललाई उमार्न नसकिएजस्तै काइंला पण्डितलाई हेमराजको दर्जामा पुर्‍याउनको लागि वरिपरिबाट थुप्रै सापाहरु ठोकिंदा ठोकिंदा माटोमा पुरिएका छन् । ती मध्ये र्सवश्री कलाधर, तुलसीराम, हरिलाल गिरी, उमानाथ शर्मा, ... ... ... र हेमराज आफैंले संझनुपर्ने अन्य हितैषी साथीभाई र तिनका वंशजप्रति यथोचित सम्मानको भाव दर्शाउनु पर्ने सामाजिक तथा नैतिक जिम्मेवारी हेमराज शर्मा र उनका सन्तानमाथि स्वाभाविक रुपमा रहेको सत्य तथ्य प्रति उदासीन हुन मिल्दैन । "

 
हेमराज शर्मा पौडेलसंग सम्बन्ध राख्ने दस्तावेजहरुबाटै थाहा हुन्छ कि २००७ साल माघ १ गतेबाट बलेवा पैयुँपाटा प्रारम्भिक पाठशाला स्थापना भई शिक्षाको ज्योति बाल्नेकाम भएको थियो । २०१० सालमा ग्रामसुधारक विद्यालय प्रचारिणी समिति गठन भएको, २०१४ साल माघ १२ गने भोजपुरे गुरुका नामले प्रख्यात पर्ूण्ाप्रकाश बन्धु नेपाल यात्रीको अध्यक्षतामा गठित पुस्तकालय संचालक समितिमा उमानाथ उपाध्यायले सदस्य पदमा रही सेक्रेटरी हेमराज शर्मा पौडेल र भोजपुरे गुरुलाई सहयोग पुर्‍याउनु भएको पाइन्छ । २०१८ सालमा विश्व शान्ति महायज्ञमा वहाँको छोरा भूपति शर्मा कोषाध्यक्ष भई काम गर्नु भएको थियो । २०३३ सालमा हेमराज शर्मालाई विशेष प्रहरी विभाग काठमाण्डौंले समाती हिराशतमा राख्यो । त्यतिबेला संचालक समितिमा रहनु भएका उमानाथ उपाध्याय र जि.मु. धर्मानन्द जैसी लगायतका व्यक्तिलाई पनि काठमाण्डौं हाजिर गर्राई बयान लियो । त्यतिबेला बागलुङ तिर र्फकदैं गरेका धर्मानन्द जैसीसंग म र नेपानेका मेरो भाइ नाता पर्ने प्रेम -हाम्रो एउटै नाम छ) काठमाण्डौं तिर जाँदा बाटोमा गाडी रोकिएको ठाउँमा भेट भयो र उहाँ फेरि त्यहाँबाट हामीसंगं एउटै बसमा काठमाण्डौं विशेष प्रहरी विभागमा फेरि हेमराजलाई भेट्ने काम पर्‍यो भनी जानु भएको थियो । वहाँ हाम्रो गोत्रीय दाजुभाइ र काका पर्ने भएकोले विशेष प्रहरीमा भएका मोटामोटी कुराहरु ब्ाताउनु भएको थियो ।

करुणा -२०५४ मा नै बलेवा एक संस्मरण शीर्षकमामा श्रीकुमार थपलियाले -पेज ३०) लेख्नुहुन्छ - "शिक्षाको अर्को पक्षलाई नियालेर हर्ेदा उमानाथ छात्रवृत्ति र प्रौढ शिक्षा कार्यक्रम उमानाथज्यूको सन्तानहरुको एउटा महान कदम हो ... ...। " उमानाथ छात्रवृत्ति प्रतिभा पुरस्कार संस्था पैयुँपाटा बागलुङले २०६१।८।७ मा हेमराज शर्मालाई अभिनन्दन गरिसकेको छ ।

पैयुँपाटाको विकासमा हेमराज शर्मा पौडेललाई साथ दिने बलिया खम्बाहरु कलाधर शर्मा र उमानाथ उपाध्याय हुन् । पैयुँपाटामा साँच्चिकै कलाधर र उमानाथ नभएको भए  पूर्णप्रकाशहरु यात्री र हेमराज शर्माका प्रयास र उत्साहहरु र शैक्षिक विकासका गतिविधिहरु कता पुग्थे कल्पना गर्न सकिन्न । आजसम्म पनि हामी सामन्ती संस्कारबाट पार पाएका छैनौं । बलेवामा शोषक फटाहा र जालझेल गर्नेहरुलाई तह लाउन हेमराज शर्मा लगायतको टोलीले भरमग्दूर काम गरेको थियो । कलाधर र उमानाथहरुले साथ दिएका थिए । सबै धन हुनेहरु बुद्धिको कदर गर्ने र सहयोग गर्ने खालका हुँदैनन्, सबै धन हुनेहरुको मन हुँदैन । उमानाथ भौतिकताले मात्र होइन मनका पनि धनी हुनुहुन्थ्यो । उहाँको तन, मन, धन शिक्षा तथा समाज विकासमा लागेकोले नै उहाँ श्रद्धेय, अमर, पूज्य र प्रेरणादायक हुनुहुन्छ । भौतिक शरीर नभए पनि विचार र भावनाहरु बाँचेका छन् । शिक्षा क्षेत्रमा संलग्न व्यक्ति, शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य र्सवसाधारणले पनि उमानाथ छात्रबृत्ति प्रतिभा पुरस्कारको नाम र यस संस्थाको गतिविधिले पनि बिर्सन नसकिने बनाएको छ । यसले सँधै सँधै विगत वा इतिहासलाई संझाएको छ ।

उमानाथ उपाध्याय सामाजिक तथा शिक्षा विकासको भावनाले ओतप्रोत भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले पुर्‍याएको योगदानको अभिलेखीकरण २०१४ सालबाट भएको देखिन्छ । २०१४ सालमा पाठशाला संचालक समतिको कोषाध्यक्ष, हंसवाहिनी पुस्तकालय संचालक समितिमा सदस्य, २०१४ र २०१५ सालमा जिल्ला विकास बोर्ड, बागलुङमा रहेर काम गर्नुभएको देखिन्छ । २०१७ साल देखि धेरै समय विद्यालय संचालक समितिमा कोषाध्यक्ष पदमा रही काम गर्नु भयो । उहाँको आनी-बानी सामाजिक व्यवहारले परिवारका सबै जनाले राम्रोसंग शिक्षा आर्जन गर्न सके, छरछिमेक, गाविस, जिल्ला र देशले एक कुनाबाट देशविकासको लागि टेवा पाउन सक्यो । अरु कोहीका बारेमा कहिलेकाँही नकारात्मक टीकाटिप्पणी गरे पनि उहाँको बारेमा जीवित वा मरणोपरान्त पनि नकारात्मक टीकाटिप्पणी गरेको पाइएको छैन । हाम्रो घरमा बासंग माइला बा शशिधर र अरु मान्छेको बीच कुरा चल्दा अँधेरीखोलाका उमानाथका बारेमा निकै प्रशंसाका कुराहरु चल्थे । निर्दोषी, निःस्वार्थी र विवेकी आत्माको प्रतिरुप हुनुहुन्थ्यो उहाँ । हाम्रो बालापन देखि, चिनेजानेको अवस्था देखि उहाँ प्रति श्रद्धा रहिआएको थियो । आज पनि श्रद्धाञ्जली अर्पण गर्दछु, अस्तु ।



 

 

Friday, September 16, 2011

घडी

घडी

हामी साना छँदा घडीको चलन थिएन । हाम्रो गाउँभरमानै कसैको घडी थिएन । स्कूल जानु भन्दा अगाडि समयको ख्याल हुँदैनथ्यो । स्कूल जान थाले पछि बिहान स्कूल जाने बेला भयो कि भनी ख्याल गर्नु पथ्र्यो । आमाले सूर्य बोलीचालीको भाषामा घाम भनिन्थ्यो उदाएको बेला र डाँडाबाट क्षितिजमा कति माथि आएको छ हेरेर अड्कल गरिन्थ्यो । दैलो ठेलोमा छानाको पर्ने छाँयालाई ख्याल गरी जाँदा त्यो दिन ढिला वा चाँडो के हनुथ्यो सो हेरेर अड्कल गरिन्थ्यो । विद्यालयमा अलार्म सहितको टेबुलघडी थियो । पहिले त सबै शिक्षकसंग घडी थिएन । सूर्य नदेखिँदा बेसरी बादलिएको दिन बिहान समयको अड्कल गर्न कठिन हुन्थ्यो । विद्यालयमा पुग्न कहिलेकाँही अबेर हुन्थ्यो । ढिलो आउनेलाई एक लहरमा उभ्याई ुभोलि देखि ढिलो नगर्नुु भनी हप्काएर छाडिन्थ्यो । म एकचोटि यस्तो परेपछि घरमा आमालाई अत्याएर चाँडै खाएर जान्थंे । कहिले त छिटो स्कूलमा पुग्दा म एक्लै हुन्थें । तर सानो छँदा म माइला बाबासंग संगै जान्थें । आउँदा भने अरु साथीहरु प्ानि भएकाले संगै ओरालो हामफाल्दै दौडन्थ्यौं । विद्यालयका विद्यार्थीहरुमा दश कक्षामा पुगेका २ जनाले घडी बाँधॆका थिए । स्कूलमा पछि अरु शिक्षकले पनि घडी बाँधे । मैले पनि आइ ए पढेपछि बाबाले किनिदिएर घडी बाँधेको हुँ । मेरो घडी एचएमटी पाईलट भन्ने थियो । घडी नहुँदा बाबाले राति बाहिर आकाशतिर हेरेर तीनतारे बृहस्पति शुक्र आदि ताराको ख्याल गरेर समय कति गयो कति बाँकी छ अड्कल गर्नुहुन्थ्यो । सूर्योदय र सूर्यास्त र ताराहरुको स्थानबाट कति घडी पला गएको छ भनेर अडकल गरिन्थ्यो । गाउँमा कोही जन्मदा घडी नहँुदा पात्रो हेर्न जान्ने मान्छेलाई बताई घडी पलाको हिसाब गरी पात्रोमा तिथि मिति लेखी राख्ने गरिन्थ्यो यसलाई डोरो हाल्ने भनिन्थ्यो । हाम्रो घरमा बा ले सोध्न आउनेहरुको र जजमानहरुको जन्मको डोरो हाल्ने काम गर्नु हुन्थ्यो किनकि यसैबाट न्वारानमा नाम जुराउनु पथ्र्यो ।

हामी बागलुङ बजार आउँदा ओमप्रसादको कपडा पसलमा घडी हल्लेको हेर्न जान्थ्यौं । ठूलो भित्तेघडी थियो । घण्टा पुगी बज्ने बेलामा आवाज आउँछ भनेकाले फर्की फर्की आएर आवाज आएको पनि सुन्थ्यौं । त्यतिबेला सम्पन्न परिवारका व्यक्तिले घरमा भित्तेघडी टेबुलघडी राख्ने र हातेघडी बाँधेका हुन्थे । पहिलेका सबै घडीमा दम दिनु पथ्र्यो । दिउँसो १२ बजे घडीलाई दम दिने भन्ने चलन थियो । यसैलाई लिएर बाह्र बजे घडीलाई दम िदंदा रुन्छ मन हजूरलाई संझिदा भन्ने जस्ता गीत पनि गाउँथे । हाम्रो माइला बाबाले दिउँसो बिसर्िन्छ भनेर सधंै बिहान बिहान घडीमा दम दिने सानो निस्केको टुप्पा घुमाउने गर्नु हुन्थ्यो । मैले पछि घडी बाँध्न थालेपछि पनि यही सिको गरी बिहान उठ्ने बित्तिकै घडी हेर्ने र दम दिने गथर्ंे । घडी लाउनु गहना लाउनु जस्तै थियो । मेरो विवाहमा पनि गाउँका लाहुरे दाजूको घडी बाँधिदिनु भएको थियो दुलाहालाई िसंगार्ने क्रममा । पछि मैले गाउँको एकजना भाइले काठमाण्डौंबाट ल्याएको घडी बेच्न खोजेकोले किने । त्यतिबेला म शिक्षकको जागिर खान्थें । मासिक १९२।२५ पैसा थियो । मैले घडी बेचेर अर्को किनेको घडी बाँध्न थाले । केही वर्षपछि मैले ठूली आमाको छोरा भाइसंग घडी किनंे र मेरो घडी बाबालाई दिएँ । बाबाको पनि घडी हेर्ने बानी बस्यो । मेरो घडीमा पानी पसी बिग्रीरहने भएकाले मैले मर्मत गरी भाइको घडी बाँध्ने रहर पूरा गर्न उनलाई दिएँ । मैले हाल २०५८ सालमा किनेको क्यासियो नामको ब्याट्रीबाट चल्ने घडी बाँध्ने गरेको छु । अहिले मोबाइलमा पनि समय हेर्न मिल्छ तापनि समय हेर्न नाडी घडी प्रयोग गरिरहेकोले यो टुटाउन सकेको छैन । पटक पटक समय हेरिरहन्छु । उमेर ढल्दै गयो बल्ल समयको महत्व बुभ्दैछु । साना नानी बाबुहरुले समयको महत्व आजैबाट बुझेर काम गरुन भन्न चाहन्छु ।

Thursday, September 15, 2011

अलमल्ल परं बा

आफ्नो छोरा नभए पनि एक जना भतिजले भने ए ठूलाबा हाम्रो राष्ट्रिय जनावर कुन हो धेरै जसोको घरमा बंगुर छन् हाम्रो त राष्ट्रिय जनावर बंगुर नै हुनु पर्छ । पल्ला गाउँको बाख्रा पाखाथरका जैसीहरुको राष्ट्रिय जनावर भैंसी हामीहरुले त कुकुरलाई पनि राष्ट्रिय जनावरमा राख्नु पर्छ ठूलाबा घरको रक्षा गर्ने यस्तो जनावरलाई महत्व नदिएर हुन्छ उच्च दर्जाका अपराधी समेत पत्ता लगाउँने जनावरलाई । राउटेले बाँदरलाई मान्लान् कि केलाई ठूलाबा भतिजको कुराले म सोचमा परें । होत हाम्रा मकमक घुर गर्ने परेवा पारी गाउँका कुखुरी काँ गर्ने घडीचराहरु कतै भगेंरा चीलहुकीचील आदिले आआफ्ना ठाउँमा राष्ट्रिय चराको ठाउँ पाउने भए । सुनकेस्रीले लाउने गुनकेशरी पनि राष्ट्रिय फूल हुने भए । हाम्रो गाउँमा पनि पाखा र कान्लाभरि पाइने प्याउली फूलको पनि राष्ट्रिय फूल हुने दिन आउने भयो । हाम्रो पनि सुगा रंग राष्ट्रिय रंग हो भनेर सुगा रटाई गर्नु पर्ने होला । यस्तै के सोच्दै थिएँ बाबाले लाउने गरेको लगौंटी संझे । जमाना देखि इज्जत जोगाउँदै आएको यो पनि राष्ट्रिय पोशाक नै त हो । कण्ठे लगौंटी लाउँदा त्यही राष्ट्रिय पोशाक हुने होला । अब राष्ट्रिय पहिचान जातिगत क्षेत्रगत जिल्लागत धर्म राजनीति संघीय गाउँ वस्ती कुन रुपमा हुने हो मेरो त दशैं आए पनि पुरानै पाइन्ट र शर्ट छ गृह पोशाक जिल्ला पोशाक राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरिक्षीय जे पोशाक भने पनि यसैमा ठाँटिएर हिड्नु पर्ला ।

Sunday, June 12, 2011

मरण अधिका दुःखीका अभिव्यन्जनाहरू पुस्तक हेर्दा

डा. प्रेम शर्मा psppsharma@gmail.com

मरण अधिका दुःखीका अभिव्यंजनाहरु नामक कथा र कविताको संगालो पढिसकेपछि कविका भावहरुसंगै कवि भित्र पसें । कथाका परिघटनाका दृश्यहरु मनमा नाचिरहे । अनि कविसंगका विगतका क्षणहरुलाई पनि संझें । दुःखी मेरो आदरणीय दाजु हो । म उहाँलाई सम्मान गर्थें । बागलुङमा धवलागिरी महेन्द्र कलेज पछि महेन्द्र बहुमुखी क्याम्पस र हाल धवलागिरी बहुमुखी क्याम्पसमा २०२९।०३० सालमा पढ्ने बेलाबाट सामान्य चिनाजान थियो हाम्रो । बालकृष्ण नेभा सरको घरमा बसेको केही समय पछि राखुकेा मुक्ति सुवेदीले संगै बसौं भनी ज्यादै आग्रह गरे पछि पुलाचौरका हेमराज सुवेदी म र मुक्ति सुवेदी घ्यान्ते साईंलाजीको घरमा संगै डेरा गरी बसेका थियौं । उहाँको भाइ नारायणप्रसाद श्रेष्ठ हामी भन्दा अगाडिको त्यही कलेजको विद्यार्थी हुँदा उहाँहरुले कलेजले पुलकर पाउनु पर्ने आदि विषयलाई लिएर विद्यार्थी हडतालमा लाग्दा हामीले त्रिभुवन हाई स्कूल पैयुँपाटामा विद्यार्थी छँदा हडताल गरी साथ दिएका थियौं । त्यसबेला मैले विद्यार्थीको तर्फबाट नेतृत्व गरेको थिएँ । चमेली दिदी र अरु साथीहरु पनि हुनु हुन्थ्यो । नारायणप्रसाद श्रेष्ठसंग मेरो त्यतिबेला देखि चिनाजान भएकोले सो समयमा पनि उहाँ र बागलुङमा हुँदा कृष्णप्रसाद दुःखीसंग भेट हुन्थ्यो । उहाँलाई त्यतिबेला भावुक र गंभीर प्रकृतिको व्यक्ति पाएको थिएँ । तर उहाँ थतेउलो र रमाइलो पनि हुनुहुन्थ्यो भन्ने कुरा थाहा पाएँ जब म र वहाँ पोखरामा परीक्षा दिन गएको बेला होटलको एउटा कोठामा संगै बसी पढेर जाँच दिएका थियौं । उहाँ नेपाली विषयमा एम.ए.दिदैं हुनुहुन्थ्यो र मैले राजनीति शास्त्रमा एम.ए. दिदैं थिएँ । मलाई अर्थशास्त्रमा एम.ए. गरे पछि फेरि अर्को विषयमा दिन आएको भनी पन्ध्र विषमा एम.ए. गर्ने विचार छ कि क्या हो भनेर जिस्काउनु हुन्थ्यो । मैले क्याम्पसमा शिक्षण पेशा गर्नलाइ जाँच पास गरे काम पाइएला भनेको थिएँ । तर उहाँले जागीरमा बढुवाको लागि काम लाग्ला भनी दिन आएकॊ बताउनु भएको थियो । उहाँ आफूलाई ग्याष्टिक क्रोनिक भएको भन्नु हुन्थ्यो र स्पारसिल नामक औषधि खानु हुन्थ्यो । तर देख्दा हट्टा कट्टा देखिनुहुन्थ्यो । उहाँको अनुहार हँसिलो र फूर्तिलो थियो र बेला बेलामा भावुक भएर कुरा गर्नु हुन्थ्यो । अल्छी लाग्दा गफ पनि गर्नु हुन्थ्यो । हामी स्यांग्जा नागडाँडाको बाटो फर्कदा मसंग रेडक्रसका लागि ल्याउने पुस्तकहरु प्नि भएकोले उहाँका पुस्तकहरु पनि संगै नागडाँडा अदतमा छाडी आएका थियौं । पछि भरियालाई आफ्ना किताबको तौल अनुसार पैसा तिर्नु भयो र मैले रेडक्रसका किताबको तिरी सोही अनुसार नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाबाट भुक्तानी लिएको थिएँ । त्यतिबेला हामी बागलुङ-पोखराको प्लेन कैंसिल भएर टुक्सीमा नागडाँडा आउँदा मलाई रिगटा लागेर बान्ता होला जस्तो भएको घटना याद आइरहन्छ । लामो यात्रामा ऋण लागे पनि अझसम्म बान्ता गरेको छैन । तर त्यतिबेला जस्तो रिगटा कहिल्यै लागेन । अर्को पटक पनि राष्ट्रिय विकास सेवाको ओरिन्टेशन कार्यक्रममा संगै भयौं । त्यतिबेला उहाँ पर्वतमा काम गर्नु हुन्थ्यो । पर्वतबाट उहाँ बागलुङ फर्कंदा काठेखोलामा भेट भयो । म त्यतिबेला लुथरन विश्वसेवाको परियोजनामा काम गर्थें । सो दन भोलिपल्ट विदा भएकोले घरमा जाँदै थिएँ । राष्ट्रिय विकास सेवाका पोखरामा हुने कार्यक्रम उहाँबाटनै थाहा पाएर घर तिरैबाट गएको थिएँ । उहाँसंग भेट नभएको भए त्यस पटक छुट्ने रहेछ । पोखरामा भेट भइ संगै होटलमा बस्यौं । भोलिपट्ट म फर्कें । उहाँ पोखरामा काम भएको भनी बस्नु भयो। मैले पोखरामा होटलमा भएको खर्च तिरिदिनु होला भनी आएँ । पछि उहाँसंग भेटी मेरो लागेको हिसाब बुझाएको थिएँ । मैले उहाँलाई अति सहयोगी आदरणीय दाजुको रुपमा पाएको थिएँ । पछि जागीरको दौरानमा उहाँ एकातिर म अर्को तिर भयौं । तै पनि कहिले बागलुङमा र कहिले काठमाण्डौंमा भेट हुन्थ्यो । लामो बसाई नभए पनि केही मिनट कुराकानी हुन्थ्यो साचो बिसाचो र काम बारे । म पछि जागीरबाट अवकाश भए पछि अर्को काम खोज्ने धून गर्दै बागलुङमा नै बसें । उहाँसंग बीच बीचमा भेट हुन्थ्यो । बाटोमा भेट्ने बाहेक केहीबेरको अन्तिम बसाई साहित्यकारसंगको भेटघाट र रचना पाठ गर्ने कार्यक्रम धवलागिरी वाङमय समाजका अध्यक्ष लालचन्द्र राजभण्डारी वरिष्ठ साहित्यकार हाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्रेम छोटा लगायतका साहित्यकारहरु त्यतिबेला बागलुङमा २०६५ साल जेठ २५ गते साहित्यकार गण्डकी पुत्र आएको बेलामा भएको थियो । त्यतिबेलाको उहाँको उपस्थितिलाई पनि मैले झलझली संझेको छु । कार्यक्रमको समाप्ती पछि हामी गण्डकी पुत्र र उहाँका साथी सहित प्रेम छोटाज्यूको घर तर्फ गयौं । उहाँका कृतिबारेमा छलफल र जानकारी पछि हामी ब्ाागलुङ एफ.एम.तिर लागेका थियौं
प्रेम छोटाज्यूसंग बेला बेलामा भेट भैरहन्छ । उहाँले मलाई मरण अघिका दुःखीका अभिव्याजनाहरु पुस्तक दिनु भयो र यसबारेको प्रतिकया लिखित रुपमा दिए राम्रो हुन्थ्यो भन्नु भयो । दुःखीजीले फाटफूट लेख्नुहुन्छ भन्ने थाहा थियो तर संकलित कृति पढेको थिइन । दुःखीको अधूरो इन्छा प्रेम छोटाज्यूले पूरा गरिदिनु भएको छ । उहाँको सपना के थियो छोटाज्यूले ुस्रष्टाको रुपमा मित्र कृष्णप्रसाद दुःखीु भित्र सबै बेलीविस्तार लाउनु भएको छ ।
दुःखीले बोकेको सपनाको प्रसंग आउँदा उहाँको सपना कविता नै संझिएँ । सपना सपना मात्रै होइनन् । भविष्यका योजना पनि हुन् । कालखण्डले सपनामा परिवर्तन ल्याउँछ । कविले अधिल्ला सपना र पछिल्ला सपनामा तुलना गर्नु भएको छ । साँच्चै हिजोको सपना अर्के थियो जुन सपनाले अनिष्ट वा राम्रो के ल्याउँछ सो बारे सोच्ने गराएको थियो । स्वस्थ्य सपनाले कहिल्यै अनिष्ट ल्याउँदैन । सपना साकार पार्न अर्को सपना देख्नु पर्छ । छिन छिनमा मानिसका सपना वा भावना परिपक्व बन्दै जान्छन् । त्यसैले कवि परिपक्व भएर साकार पार्ने सपना देख्न चाहनु हुन्छ । वहाँको भावी सपना हराए जस्तै मरण अघिनै उहाँमा कविता लेख्ने रहर पनि हराएको थियो पृष्ठ १३ । किनकि उहाँको रंगीचंगी गुलाबले भरिएको बगैंचा तथाकथित डिङाले सखाप पारिदिएका थिए । प्रेरणा दिने पि्रयाको स्वभावमा परिवर्तन आएको थियो र मंगलग्रहमा रकेट उडाउने देशले विश्वमा दादागिरी मच्चाएको उहाँलाई भान भएको थियो । त्यसैले उहाँले लेख्न चाहेको कविताको रहरसंगै उहाँ हराउनु भयो । तर हामीलाई उहाँ प्रतिको रहर हराएन । कविता र कथा पढ्ने रहर हामी भित्र बाँचिरहयो। उहाँले जे भन्नु भएको थियो त्यो अब उहाँले भोग्नु परेन । हामी बाँचुाजेल भोग्नु परिरहेछ पृष्ठ १२ । हामी बाँच्नेहरु पनि भोलिलाई हेरेर बाँचेका छौं । भोलिको सुनौलो भविष्यको कल्पना गरेर पृष्ठ ९ । तर कविको सुनौलो सपना मृत्युको बाघ पाजामा पनि भताभुंग भयो । कविले सबैतिर भताभुंग भएको देख्नु भयो तर पनि मृत्युलाई छकाएर बाँच्नु भयो । उहाले भन्नु भयो - केही वर्ष पहिलेको जीवनको याद आउँछ एक एक गरी कति भयानक थियो त्यो जीवन मृत्युनै मुत्यु उभिएको थियो चारै तिर मृत्युलाई छकाई आज म बाँच्न बाध्य भएको छु अपहेलित भएर । यसो भने पनि फेरि आफूले भनेजस्तै भस्मासुर बन्नु भयो र मृत्यु वरण गर्नु भयो पृष्ठ १९। उहाँ जीवित छँदा मेरो जीवन कवितामा भनेझैं रातमा मृत्यु र दिनमा झिनो आशा बोकेर बाँचिरहेछ मेरो जीवन मेरो जीवन फूलै फूलको रामकहानी हो जसले जिन्दगीमा बाँच्न कहिल्यै सिकेन अहिले अक्टोपसको टोकाईलाई पर्खेर बाँचिरहेछ मेरो जीवन तीन भूलमा कवि भन्नुहुन्छ-जिन्दगीको बाटोमा काँडा त थियो नै तर त्यही काँडालाई पन्छाइ हिड्न नसक्नु मेरो भूल भयो । हो कविले आत्महत्या गर्नु पनि ठूलो भूल हो । उहाँको भूललाई समयमानै सच्याउन नसक्नु परिवार समाज देश र विश्व मानव समुदायको भूल हो । वहाँको मनोरोगको अध्ययन गर्न नसक्ने समाज र राज्य व्यवस्था छ । यो पनि बाँचेकाहरुले भूल नै गरिरहेका छौं । तर कविले जीवन जीउनको लागि हो भन्नु भएको छ पृष्ठ २२।
प्रकृतिले नर र नारीको सिर्जना गरेको छ । वैवाहिक जीवनमा बाँधिए पनि नबाँधिए पनि नर र नारी भावनात्मक रुपमा एक अर्काका पूरक हुन् । समिलंगी वा उभयिलंगी पनि भावनात्मक रुपमा एक पक्षमा आफूलाई उभ्याएका हुन्छन् । त्यसैले कवि निरवताको झंकारमा भन्नुहुन्छ-मेरी पि्रयतमा तिमी नै मेरी सपना । यसरी पि्रयतमालाई पथप्रदर्शकको रुपमा स्वीकार्नुहुन्छ र उहाँको तपस्याको अन्त्य ढुंगा बोलेपछि हावा रोकिए पछि हिमाल ढले पछि र समुद्र लुके पछि मात्र अन्त्य हुने कुरा बताउनु हुन्छ । तर यस बाहेक प्रकृति र जीवननै सवोच्च छन् त्यसैले कविले आफ्नो प्रतीकात्मक पि्रयतमालाई भन्नुहुन्छ -भगवान । तिमी छौ अनि संसार छ भने भगवानलाई पूजा गरेर मनोकामना पूर्ति हुन्छ भने मेरो स्मृतिमा विस्मृति ल्याइदेउ मेरो यो भागीरथ तपस्याको लक्ष्य र अन्त्यको मिलन नहोस् म आफू भनी मरु यही नै निरवताको झंकार हो पृष्ठ २। कवि परंपरागत विश्वास र मान्यताबाट उम्कन खोज्नु हुन्छ तर सामाजिक वातावरणले उम्कन िदंदैन । काना देशमा आँखा चिम्लनु पर्ने जस्तै कविलाई लाग्छ । अनि उहाँ भन्नुहुन्छ-हिमाल पल्टिए छाती थियो आकाश खसे शीर थियो समुद्र उर्ले आँखा थियो … तर त्यो रोक्ने कोही छैन भन्छु तर भए झैं लाग्छ पृष्ठ ३। कोही कतै हाँसे झैं लाग्ने खेतको डिल डिलहरुमा उहाँ संझनाको बादल भित्र कोही आए झैं लाग्ने उहाँले सिर्जेको भगवान होइन । भएको वास्तविकता त अप्राप्ती हो । त्यो वास्तविकता कतै छ तर कविको लागि कल्पना बनेको छ पृष्ठ ४ ।
कविले व्यवसाय र आर्थिक कि्रयाकलाप तर्फ पनि कलम चलाउनु भएको छ । उहाँले हाइकूहरुमा कर्मचारीहरुको रोजगार र व्यवसायलाई होटेल्नी दिदीले लालदरबार र सिहदरबारको सपना बोकेको तुलना गरी व्यंग गर्नु भएको छ । त्यस्तै गरी नयाँ सडकको व्यापारी र ल फर्म पनि जीविकोपार्जनको लागि गरिने कृयाकलापमा व्यंग गर्नु हुन्छ । समाजमा व्याप्त शोषणलाई प्रहार गर्दै धरती आमा कवितामा भन्नहुन्छ -निरीह व्यक्तिलाई चुसी मालिक बस्छ रमाई यही नै कथा हो धरती आमाको । कविले व्यक्तिमा सेवा र सहयोगको भावना हराएको र व्यापारिक प्रवृत्ति बढेको र व्यक्ति एकातिर आर्थिक मार र चपेटामा परेका छन् भने अर्कोतिर अनियन्त्रित राज्य व्यवस्थाले चरम शोषण भएको र आर्थिक विषमता देखिएको छ भन्ने कुरा कविको एक शब्द चित्र भित्रको यहाँ किनबेच चल्छ बिहानै देखिमा देख्न पाइन्छ पृष्ठ ४ । खाना, नाना र छानाको आवश्यकता पुगे पछि व्यक्तिले प्रतिष्ठा खोज्छ । समाजले भोका र नांगाहरुको इज्जत देख्दैन । इज्जतदारहरु मानवतालाई कुल्चन्छन् । त्यसैले कविमा पनि त्यो रोग हटेको छैन र म नामको भोको मान्छे मलाई नाम चाहिएको छ पृष्ठ २० भन्नु हुन्छ । उहाँले काम पाउनु भएको थियो र खाना नाना र छानाको समस्या थिएन । यो कविको मात्र हैन सबै मानिसकेा स्वभाव हो । यति मात्र होइन मनिटाइज्ड समाजमा पनि सामाजिक आर्थिक अवस्थाको चित्रण गर्दै भन्नहुन्छ - पैसाको लागि सिद्धान्तको व्यापार गरिरहेको समाज पृष्ठ ४। त्यस्तै आमालाई चिठी कवितामा पनि आफ्नै जीवनका अनुभूतिलाई सामाजिक परिवेशसंग तादात्म्यता गाँस्नु भएको छ । आनि आशावादी भएर भन्नु हुन्छ-आमा २।४ पैसा जम्मा गरी साहूको ऋण तिर्ने इच्छाले म यहाँ खटिरहेछु ढिलो चाडो यी आततायीको पतन निश्चय छ आमा पृष्ठ ३०। तर वकील कवितामा राज्य व्यवस्थाका माखे साङ्ला र छिमेकी शक्तिशाली देशमा पाउ पर्न गए जस्तै आर्थिक र व्यापारिक सम्बन्धमा तीखो प्रहार गर्नु भएको छ । परम्परागत धर्म सम्बन्धमा उहाँ नास्तिक देखिनु हुन्छ भने मानव सेवा धर्म हो र व्यक्तिले मानवीय सेवाको लागि खट्नु पर्छ भन्ने कुरा हाम्रा बाबा-साइ बाबा कवितामा आफ्ना अभिव्यक्ति पोख्नु भएको छ । कविताहरु आत्मपरक छन् । त्यसैले कवि प्रतीकको रुपमा उभिनु भएको छ र समाजलाई व्यंग गर्नु भएको छ ।
उहाँको कविता पछि लेख खण्ड हेर्दा उहाँको लेखन शैली रोचक लाग्यो । पाठकले पढाईको प्रवाह रोक्न मन लाग्दैन । गद्य कविताको शैली जस्तै छ कथामा पनि । उहाँको साहित्य प्रतिको रुचि र लगाव सरोज लेखमा देख्न पाइन्छ । मैले निर्मलाको हत्या गरें एक उच्चस्तरको कथा हो । यसमा घटना र प्रस्तुती शैली कौतूहलता जगाउने खालको छ । समाजमा कुनै पनि काम गर्नु अघि राम्ररी अध्ययन र विश्लेषण गरेर गर्नु पर्छ । व्यक्तिलॆ संवेगको नियन्त्रण गर्नु पर्छ भन्ने कुरा पनि भएकोले यस्ता कथा विभिन्न पत्रिकाले साभार गरी प्रकाशन गरी समाजमा फैलाउनु जरुरी छ । यो कथाले मनोविज्ञानलाई पनि अंगालेको छ । साहित्य सिर्जनाले समाजमा परिवर्तन ल्याउँछ । कथाकी पात्र निर्मला पनि सामाजिक रुपान्तरणका लागि लागेको कुरा कथाकारले देखाउनु भएको छ ।
व्यक्तिको इच्छा विपरित अरुले बाध्य पार्दा रीता र विनोदको के हाल भयो अर्को कथाले प्रस्तुत गरेको छ । महिलाहरु अशक्त पारिएका छन् र सामाजिक बन्धनलाई तोड्न सक्दैनन् । उब्जेका इच्छा आकांक्षाहरु निमोठिन्छ । यो समाजले दिएको मानसिक यातना हो । यसमा रीताले नाडीको चुरा फोरेर रोएको कथानक दृश्यले पाठकलाई गंभीर स्तब्ध र मनोविश्लेषक बनाउँछ । एउटा नटुंगिएको कथामा कथाको शुरुवातमै कथाकारको प्रतिभा देखिएको छ । अन्य कथाहरु भन्दा विषयवस्तु संगठनमा विशिष्ठता हासिल गरेको छ । यस कथामा राज्य व्यवस्थाको व्यंग गरिएको छ । सामाजिक आर्थिक अवस्थालार्क्ष अभिव्याजना गरिएको छ । यहाँ भूपी शेरचनका कवितालाई सभार गरी एउटा नटुंगिने कथा जन्माइएको छ । साँच्चै यो कथा टुंगिदैन । यसमा युगौं युगसम्म हरफहरु थप्न सकिन्छ तर यो जिम्मा बाँचेकाहरुको हो । कथाकारको कथा नटुंगिए पनि जीवनलीला भने टुंगिएको छ ।
पागल कथाको आफ्नै विशेषता छ । यो देश प्रेमी देश तथा समाज निर्माणमा लाग्नेहरुको अभिव्यक्ति हो । सत्य भने पछि ढाँटेको भनिन्छ र ढाँटिएको कुरालाई सत्य मान्ने हाम्रो समाज छ । यहाँ कथाकारका कुरा पात्र मार्फत जो बोलिएका छन् एक एक मार्मिक छन् । यस भित्र दर्शन पनि छ । मान्छेको हृदय र भावना नै शाश्वत साहित्य हो । यसले एक दर्शन बोकेको छ । यहाँ साहित्यको उत्साहलाई कसरी राज्य व्यवस्थाले उपहास गरेको छ सो कुरा व्यक्त भएको छ । यहाँ कविताले भोको पेट भरिदैंन यसै कारणले मैले तपाईंलाई सधैंका लागि त्याग्ने विचार गरें । आजसम्मको हाम्रो सहवासलाई एउटा कविता संझिदिनोस् अथवा चलचित्रको एउटा दृश्य । समाजमा यस्ता कविता वा चलचित्रका दृश्य प्रशस्त छन् । सामाजिक संगठन वा राव्य व्यवस्थाका प्रयासहरु न्यून छन् । मीराको जीवन र बाध्यता नेपाली जीवन र वाध्यता हो । मीराका बौलाहाहरुको प्रतिभा आज कुण्ठित भएको छ । नारी आदर्श र संगठनका कागजातहरु खरानी भैरहेका छन् । कथाकारले देखेको वास्तविकता यही हो ।
अन्त्यमा कवि तथा कथाकार दुःखी यस अभिव्याजनामा साँच्चिकै कवि र विशिष्ठ कथाकार देखिनु भएको छ । देवकोटाको के नेपाल सानो छ भने जस्तै के किताब सानो छ के कथा साना छन् प्रश्न उब्जन्छ । साहित्यकार दुःखीले आफ्ना रचनामा परम्परागत पाराबाट मुक्त हुन खोज्नु भएको छ । वास्तविक घटना र क्रमको आभास दिनुभएको छ । साहित्यकार भित्रको दर्शन, कला, अन्तसघर्ष, कमजोरी, प्रकृति चित्रण, पदार्थवादिता, सामाजिक शोषण र कुरीति प्रतिको विद्रोहको भावना देश प्रेम र विकृति विरुद्धका आवाजहरु घन्केका छन् । कविता भन्दा कथा प्लट शैली र योजनामा बढी विशिष्ठता देखिन्छ । उहाँको कृतिको अध्ययनले उहाँ प्रतिको आदर र सम्मानभाव बढाएको छ । उहाँसंगका विगतका क्षणलाई मेरो वर्तमानले पछुईरहेको छ । अस्तु ।

Sunday, April 24, 2011

Formats

नोटरी अन्नुअल रिपोर्ट फारम