Sunday, June 12, 2011

मरण अधिका दुःखीका अभिव्यन्जनाहरू पुस्तक हेर्दा

डा. प्रेम शर्मा psppsharma@gmail.com

मरण अधिका दुःखीका अभिव्यंजनाहरु नामक कथा र कविताको संगालो पढिसकेपछि कविका भावहरुसंगै कवि भित्र पसें । कथाका परिघटनाका दृश्यहरु मनमा नाचिरहे । अनि कविसंगका विगतका क्षणहरुलाई पनि संझें । दुःखी मेरो आदरणीय दाजु हो । म उहाँलाई सम्मान गर्थें । बागलुङमा धवलागिरी महेन्द्र कलेज पछि महेन्द्र बहुमुखी क्याम्पस र हाल धवलागिरी बहुमुखी क्याम्पसमा २०२९।०३० सालमा पढ्ने बेलाबाट सामान्य चिनाजान थियो हाम्रो । बालकृष्ण नेभा सरको घरमा बसेको केही समय पछि राखुकेा मुक्ति सुवेदीले संगै बसौं भनी ज्यादै आग्रह गरे पछि पुलाचौरका हेमराज सुवेदी म र मुक्ति सुवेदी घ्यान्ते साईंलाजीको घरमा संगै डेरा गरी बसेका थियौं । उहाँको भाइ नारायणप्रसाद श्रेष्ठ हामी भन्दा अगाडिको त्यही कलेजको विद्यार्थी हुँदा उहाँहरुले कलेजले पुलकर पाउनु पर्ने आदि विषयलाई लिएर विद्यार्थी हडतालमा लाग्दा हामीले त्रिभुवन हाई स्कूल पैयुँपाटामा विद्यार्थी छँदा हडताल गरी साथ दिएका थियौं । त्यसबेला मैले विद्यार्थीको तर्फबाट नेतृत्व गरेको थिएँ । चमेली दिदी र अरु साथीहरु पनि हुनु हुन्थ्यो । नारायणप्रसाद श्रेष्ठसंग मेरो त्यतिबेला देखि चिनाजान भएकोले सो समयमा पनि उहाँ र बागलुङमा हुँदा कृष्णप्रसाद दुःखीसंग भेट हुन्थ्यो । उहाँलाई त्यतिबेला भावुक र गंभीर प्रकृतिको व्यक्ति पाएको थिएँ । तर उहाँ थतेउलो र रमाइलो पनि हुनुहुन्थ्यो भन्ने कुरा थाहा पाएँ जब म र वहाँ पोखरामा परीक्षा दिन गएको बेला होटलको एउटा कोठामा संगै बसी पढेर जाँच दिएका थियौं । उहाँ नेपाली विषयमा एम.ए.दिदैं हुनुहुन्थ्यो र मैले राजनीति शास्त्रमा एम.ए. दिदैं थिएँ । मलाई अर्थशास्त्रमा एम.ए. गरे पछि फेरि अर्को विषयमा दिन आएको भनी पन्ध्र विषमा एम.ए. गर्ने विचार छ कि क्या हो भनेर जिस्काउनु हुन्थ्यो । मैले क्याम्पसमा शिक्षण पेशा गर्नलाइ जाँच पास गरे काम पाइएला भनेको थिएँ । तर उहाँले जागीरमा बढुवाको लागि काम लाग्ला भनी दिन आएकॊ बताउनु भएको थियो । उहाँ आफूलाई ग्याष्टिक क्रोनिक भएको भन्नु हुन्थ्यो र स्पारसिल नामक औषधि खानु हुन्थ्यो । तर देख्दा हट्टा कट्टा देखिनुहुन्थ्यो । उहाँको अनुहार हँसिलो र फूर्तिलो थियो र बेला बेलामा भावुक भएर कुरा गर्नु हुन्थ्यो । अल्छी लाग्दा गफ पनि गर्नु हुन्थ्यो । हामी स्यांग्जा नागडाँडाको बाटो फर्कदा मसंग रेडक्रसका लागि ल्याउने पुस्तकहरु प्नि भएकोले उहाँका पुस्तकहरु पनि संगै नागडाँडा अदतमा छाडी आएका थियौं । पछि भरियालाई आफ्ना किताबको तौल अनुसार पैसा तिर्नु भयो र मैले रेडक्रसका किताबको तिरी सोही अनुसार नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाबाट भुक्तानी लिएको थिएँ । त्यतिबेला हामी बागलुङ-पोखराको प्लेन कैंसिल भएर टुक्सीमा नागडाँडा आउँदा मलाई रिगटा लागेर बान्ता होला जस्तो भएको घटना याद आइरहन्छ । लामो यात्रामा ऋण लागे पनि अझसम्म बान्ता गरेको छैन । तर त्यतिबेला जस्तो रिगटा कहिल्यै लागेन । अर्को पटक पनि राष्ट्रिय विकास सेवाको ओरिन्टेशन कार्यक्रममा संगै भयौं । त्यतिबेला उहाँ पर्वतमा काम गर्नु हुन्थ्यो । पर्वतबाट उहाँ बागलुङ फर्कंदा काठेखोलामा भेट भयो । म त्यतिबेला लुथरन विश्वसेवाको परियोजनामा काम गर्थें । सो दन भोलिपल्ट विदा भएकोले घरमा जाँदै थिएँ । राष्ट्रिय विकास सेवाका पोखरामा हुने कार्यक्रम उहाँबाटनै थाहा पाएर घर तिरैबाट गएको थिएँ । उहाँसंग भेट नभएको भए त्यस पटक छुट्ने रहेछ । पोखरामा भेट भइ संगै होटलमा बस्यौं । भोलिपट्ट म फर्कें । उहाँ पोखरामा काम भएको भनी बस्नु भयो। मैले पोखरामा होटलमा भएको खर्च तिरिदिनु होला भनी आएँ । पछि उहाँसंग भेटी मेरो लागेको हिसाब बुझाएको थिएँ । मैले उहाँलाई अति सहयोगी आदरणीय दाजुको रुपमा पाएको थिएँ । पछि जागीरको दौरानमा उहाँ एकातिर म अर्को तिर भयौं । तै पनि कहिले बागलुङमा र कहिले काठमाण्डौंमा भेट हुन्थ्यो । लामो बसाई नभए पनि केही मिनट कुराकानी हुन्थ्यो साचो बिसाचो र काम बारे । म पछि जागीरबाट अवकाश भए पछि अर्को काम खोज्ने धून गर्दै बागलुङमा नै बसें । उहाँसंग बीच बीचमा भेट हुन्थ्यो । बाटोमा भेट्ने बाहेक केहीबेरको अन्तिम बसाई साहित्यकारसंगको भेटघाट र रचना पाठ गर्ने कार्यक्रम धवलागिरी वाङमय समाजका अध्यक्ष लालचन्द्र राजभण्डारी वरिष्ठ साहित्यकार हाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्रेम छोटा लगायतका साहित्यकारहरु त्यतिबेला बागलुङमा २०६५ साल जेठ २५ गते साहित्यकार गण्डकी पुत्र आएको बेलामा भएको थियो । त्यतिबेलाको उहाँको उपस्थितिलाई पनि मैले झलझली संझेको छु । कार्यक्रमको समाप्ती पछि हामी गण्डकी पुत्र र उहाँका साथी सहित प्रेम छोटाज्यूको घर तर्फ गयौं । उहाँका कृतिबारेमा छलफल र जानकारी पछि हामी ब्ाागलुङ एफ.एम.तिर लागेका थियौं
प्रेम छोटाज्यूसंग बेला बेलामा भेट भैरहन्छ । उहाँले मलाई मरण अघिका दुःखीका अभिव्याजनाहरु पुस्तक दिनु भयो र यसबारेको प्रतिकया लिखित रुपमा दिए राम्रो हुन्थ्यो भन्नु भयो । दुःखीजीले फाटफूट लेख्नुहुन्छ भन्ने थाहा थियो तर संकलित कृति पढेको थिइन । दुःखीको अधूरो इन्छा प्रेम छोटाज्यूले पूरा गरिदिनु भएको छ । उहाँको सपना के थियो छोटाज्यूले ुस्रष्टाको रुपमा मित्र कृष्णप्रसाद दुःखीु भित्र सबै बेलीविस्तार लाउनु भएको छ ।
दुःखीले बोकेको सपनाको प्रसंग आउँदा उहाँको सपना कविता नै संझिएँ । सपना सपना मात्रै होइनन् । भविष्यका योजना पनि हुन् । कालखण्डले सपनामा परिवर्तन ल्याउँछ । कविले अधिल्ला सपना र पछिल्ला सपनामा तुलना गर्नु भएको छ । साँच्चै हिजोको सपना अर्के थियो जुन सपनाले अनिष्ट वा राम्रो के ल्याउँछ सो बारे सोच्ने गराएको थियो । स्वस्थ्य सपनाले कहिल्यै अनिष्ट ल्याउँदैन । सपना साकार पार्न अर्को सपना देख्नु पर्छ । छिन छिनमा मानिसका सपना वा भावना परिपक्व बन्दै जान्छन् । त्यसैले कवि परिपक्व भएर साकार पार्ने सपना देख्न चाहनु हुन्छ । वहाँको भावी सपना हराए जस्तै मरण अघिनै उहाँमा कविता लेख्ने रहर पनि हराएको थियो पृष्ठ १३ । किनकि उहाँको रंगीचंगी गुलाबले भरिएको बगैंचा तथाकथित डिङाले सखाप पारिदिएका थिए । प्रेरणा दिने पि्रयाको स्वभावमा परिवर्तन आएको थियो र मंगलग्रहमा रकेट उडाउने देशले विश्वमा दादागिरी मच्चाएको उहाँलाई भान भएको थियो । त्यसैले उहाँले लेख्न चाहेको कविताको रहरसंगै उहाँ हराउनु भयो । तर हामीलाई उहाँ प्रतिको रहर हराएन । कविता र कथा पढ्ने रहर हामी भित्र बाँचिरहयो। उहाँले जे भन्नु भएको थियो त्यो अब उहाँले भोग्नु परेन । हामी बाँचुाजेल भोग्नु परिरहेछ पृष्ठ १२ । हामी बाँच्नेहरु पनि भोलिलाई हेरेर बाँचेका छौं । भोलिको सुनौलो भविष्यको कल्पना गरेर पृष्ठ ९ । तर कविको सुनौलो सपना मृत्युको बाघ पाजामा पनि भताभुंग भयो । कविले सबैतिर भताभुंग भएको देख्नु भयो तर पनि मृत्युलाई छकाएर बाँच्नु भयो । उहाले भन्नु भयो - केही वर्ष पहिलेको जीवनको याद आउँछ एक एक गरी कति भयानक थियो त्यो जीवन मृत्युनै मुत्यु उभिएको थियो चारै तिर मृत्युलाई छकाई आज म बाँच्न बाध्य भएको छु अपहेलित भएर । यसो भने पनि फेरि आफूले भनेजस्तै भस्मासुर बन्नु भयो र मृत्यु वरण गर्नु भयो पृष्ठ १९। उहाँ जीवित छँदा मेरो जीवन कवितामा भनेझैं रातमा मृत्यु र दिनमा झिनो आशा बोकेर बाँचिरहेछ मेरो जीवन मेरो जीवन फूलै फूलको रामकहानी हो जसले जिन्दगीमा बाँच्न कहिल्यै सिकेन अहिले अक्टोपसको टोकाईलाई पर्खेर बाँचिरहेछ मेरो जीवन तीन भूलमा कवि भन्नुहुन्छ-जिन्दगीको बाटोमा काँडा त थियो नै तर त्यही काँडालाई पन्छाइ हिड्न नसक्नु मेरो भूल भयो । हो कविले आत्महत्या गर्नु पनि ठूलो भूल हो । उहाँको भूललाई समयमानै सच्याउन नसक्नु परिवार समाज देश र विश्व मानव समुदायको भूल हो । वहाँको मनोरोगको अध्ययन गर्न नसक्ने समाज र राज्य व्यवस्था छ । यो पनि बाँचेकाहरुले भूल नै गरिरहेका छौं । तर कविले जीवन जीउनको लागि हो भन्नु भएको छ पृष्ठ २२।
प्रकृतिले नर र नारीको सिर्जना गरेको छ । वैवाहिक जीवनमा बाँधिए पनि नबाँधिए पनि नर र नारी भावनात्मक रुपमा एक अर्काका पूरक हुन् । समिलंगी वा उभयिलंगी पनि भावनात्मक रुपमा एक पक्षमा आफूलाई उभ्याएका हुन्छन् । त्यसैले कवि निरवताको झंकारमा भन्नुहुन्छ-मेरी पि्रयतमा तिमी नै मेरी सपना । यसरी पि्रयतमालाई पथप्रदर्शकको रुपमा स्वीकार्नुहुन्छ र उहाँको तपस्याको अन्त्य ढुंगा बोलेपछि हावा रोकिए पछि हिमाल ढले पछि र समुद्र लुके पछि मात्र अन्त्य हुने कुरा बताउनु हुन्छ । तर यस बाहेक प्रकृति र जीवननै सवोच्च छन् त्यसैले कविले आफ्नो प्रतीकात्मक पि्रयतमालाई भन्नुहुन्छ -भगवान । तिमी छौ अनि संसार छ भने भगवानलाई पूजा गरेर मनोकामना पूर्ति हुन्छ भने मेरो स्मृतिमा विस्मृति ल्याइदेउ मेरो यो भागीरथ तपस्याको लक्ष्य र अन्त्यको मिलन नहोस् म आफू भनी मरु यही नै निरवताको झंकार हो पृष्ठ २। कवि परंपरागत विश्वास र मान्यताबाट उम्कन खोज्नु हुन्छ तर सामाजिक वातावरणले उम्कन िदंदैन । काना देशमा आँखा चिम्लनु पर्ने जस्तै कविलाई लाग्छ । अनि उहाँ भन्नुहुन्छ-हिमाल पल्टिए छाती थियो आकाश खसे शीर थियो समुद्र उर्ले आँखा थियो … तर त्यो रोक्ने कोही छैन भन्छु तर भए झैं लाग्छ पृष्ठ ३। कोही कतै हाँसे झैं लाग्ने खेतको डिल डिलहरुमा उहाँ संझनाको बादल भित्र कोही आए झैं लाग्ने उहाँले सिर्जेको भगवान होइन । भएको वास्तविकता त अप्राप्ती हो । त्यो वास्तविकता कतै छ तर कविको लागि कल्पना बनेको छ पृष्ठ ४ ।
कविले व्यवसाय र आर्थिक कि्रयाकलाप तर्फ पनि कलम चलाउनु भएको छ । उहाँले हाइकूहरुमा कर्मचारीहरुको रोजगार र व्यवसायलाई होटेल्नी दिदीले लालदरबार र सिहदरबारको सपना बोकेको तुलना गरी व्यंग गर्नु भएको छ । त्यस्तै गरी नयाँ सडकको व्यापारी र ल फर्म पनि जीविकोपार्जनको लागि गरिने कृयाकलापमा व्यंग गर्नु हुन्छ । समाजमा व्याप्त शोषणलाई प्रहार गर्दै धरती आमा कवितामा भन्नहुन्छ -निरीह व्यक्तिलाई चुसी मालिक बस्छ रमाई यही नै कथा हो धरती आमाको । कविले व्यक्तिमा सेवा र सहयोगको भावना हराएको र व्यापारिक प्रवृत्ति बढेको र व्यक्ति एकातिर आर्थिक मार र चपेटामा परेका छन् भने अर्कोतिर अनियन्त्रित राज्य व्यवस्थाले चरम शोषण भएको र आर्थिक विषमता देखिएको छ भन्ने कुरा कविको एक शब्द चित्र भित्रको यहाँ किनबेच चल्छ बिहानै देखिमा देख्न पाइन्छ पृष्ठ ४ । खाना, नाना र छानाको आवश्यकता पुगे पछि व्यक्तिले प्रतिष्ठा खोज्छ । समाजले भोका र नांगाहरुको इज्जत देख्दैन । इज्जतदारहरु मानवतालाई कुल्चन्छन् । त्यसैले कविमा पनि त्यो रोग हटेको छैन र म नामको भोको मान्छे मलाई नाम चाहिएको छ पृष्ठ २० भन्नु हुन्छ । उहाँले काम पाउनु भएको थियो र खाना नाना र छानाको समस्या थिएन । यो कविको मात्र हैन सबै मानिसकेा स्वभाव हो । यति मात्र होइन मनिटाइज्ड समाजमा पनि सामाजिक आर्थिक अवस्थाको चित्रण गर्दै भन्नहुन्छ - पैसाको लागि सिद्धान्तको व्यापार गरिरहेको समाज पृष्ठ ४। त्यस्तै आमालाई चिठी कवितामा पनि आफ्नै जीवनका अनुभूतिलाई सामाजिक परिवेशसंग तादात्म्यता गाँस्नु भएको छ । आनि आशावादी भएर भन्नु हुन्छ-आमा २।४ पैसा जम्मा गरी साहूको ऋण तिर्ने इच्छाले म यहाँ खटिरहेछु ढिलो चाडो यी आततायीको पतन निश्चय छ आमा पृष्ठ ३०। तर वकील कवितामा राज्य व्यवस्थाका माखे साङ्ला र छिमेकी शक्तिशाली देशमा पाउ पर्न गए जस्तै आर्थिक र व्यापारिक सम्बन्धमा तीखो प्रहार गर्नु भएको छ । परम्परागत धर्म सम्बन्धमा उहाँ नास्तिक देखिनु हुन्छ भने मानव सेवा धर्म हो र व्यक्तिले मानवीय सेवाको लागि खट्नु पर्छ भन्ने कुरा हाम्रा बाबा-साइ बाबा कवितामा आफ्ना अभिव्यक्ति पोख्नु भएको छ । कविताहरु आत्मपरक छन् । त्यसैले कवि प्रतीकको रुपमा उभिनु भएको छ र समाजलाई व्यंग गर्नु भएको छ ।
उहाँको कविता पछि लेख खण्ड हेर्दा उहाँको लेखन शैली रोचक लाग्यो । पाठकले पढाईको प्रवाह रोक्न मन लाग्दैन । गद्य कविताको शैली जस्तै छ कथामा पनि । उहाँको साहित्य प्रतिको रुचि र लगाव सरोज लेखमा देख्न पाइन्छ । मैले निर्मलाको हत्या गरें एक उच्चस्तरको कथा हो । यसमा घटना र प्रस्तुती शैली कौतूहलता जगाउने खालको छ । समाजमा कुनै पनि काम गर्नु अघि राम्ररी अध्ययन र विश्लेषण गरेर गर्नु पर्छ । व्यक्तिलॆ संवेगको नियन्त्रण गर्नु पर्छ भन्ने कुरा पनि भएकोले यस्ता कथा विभिन्न पत्रिकाले साभार गरी प्रकाशन गरी समाजमा फैलाउनु जरुरी छ । यो कथाले मनोविज्ञानलाई पनि अंगालेको छ । साहित्य सिर्जनाले समाजमा परिवर्तन ल्याउँछ । कथाकी पात्र निर्मला पनि सामाजिक रुपान्तरणका लागि लागेको कुरा कथाकारले देखाउनु भएको छ ।
व्यक्तिको इच्छा विपरित अरुले बाध्य पार्दा रीता र विनोदको के हाल भयो अर्को कथाले प्रस्तुत गरेको छ । महिलाहरु अशक्त पारिएका छन् र सामाजिक बन्धनलाई तोड्न सक्दैनन् । उब्जेका इच्छा आकांक्षाहरु निमोठिन्छ । यो समाजले दिएको मानसिक यातना हो । यसमा रीताले नाडीको चुरा फोरेर रोएको कथानक दृश्यले पाठकलाई गंभीर स्तब्ध र मनोविश्लेषक बनाउँछ । एउटा नटुंगिएको कथामा कथाको शुरुवातमै कथाकारको प्रतिभा देखिएको छ । अन्य कथाहरु भन्दा विषयवस्तु संगठनमा विशिष्ठता हासिल गरेको छ । यस कथामा राज्य व्यवस्थाको व्यंग गरिएको छ । सामाजिक आर्थिक अवस्थालार्क्ष अभिव्याजना गरिएको छ । यहाँ भूपी शेरचनका कवितालाई सभार गरी एउटा नटुंगिने कथा जन्माइएको छ । साँच्चै यो कथा टुंगिदैन । यसमा युगौं युगसम्म हरफहरु थप्न सकिन्छ तर यो जिम्मा बाँचेकाहरुको हो । कथाकारको कथा नटुंगिए पनि जीवनलीला भने टुंगिएको छ ।
पागल कथाको आफ्नै विशेषता छ । यो देश प्रेमी देश तथा समाज निर्माणमा लाग्नेहरुको अभिव्यक्ति हो । सत्य भने पछि ढाँटेको भनिन्छ र ढाँटिएको कुरालाई सत्य मान्ने हाम्रो समाज छ । यहाँ कथाकारका कुरा पात्र मार्फत जो बोलिएका छन् एक एक मार्मिक छन् । यस भित्र दर्शन पनि छ । मान्छेको हृदय र भावना नै शाश्वत साहित्य हो । यसले एक दर्शन बोकेको छ । यहाँ साहित्यको उत्साहलाई कसरी राज्य व्यवस्थाले उपहास गरेको छ सो कुरा व्यक्त भएको छ । यहाँ कविताले भोको पेट भरिदैंन यसै कारणले मैले तपाईंलाई सधैंका लागि त्याग्ने विचार गरें । आजसम्मको हाम्रो सहवासलाई एउटा कविता संझिदिनोस् अथवा चलचित्रको एउटा दृश्य । समाजमा यस्ता कविता वा चलचित्रका दृश्य प्रशस्त छन् । सामाजिक संगठन वा राव्य व्यवस्थाका प्रयासहरु न्यून छन् । मीराको जीवन र बाध्यता नेपाली जीवन र वाध्यता हो । मीराका बौलाहाहरुको प्रतिभा आज कुण्ठित भएको छ । नारी आदर्श र संगठनका कागजातहरु खरानी भैरहेका छन् । कथाकारले देखेको वास्तविकता यही हो ।
अन्त्यमा कवि तथा कथाकार दुःखी यस अभिव्याजनामा साँच्चिकै कवि र विशिष्ठ कथाकार देखिनु भएको छ । देवकोटाको के नेपाल सानो छ भने जस्तै के किताब सानो छ के कथा साना छन् प्रश्न उब्जन्छ । साहित्यकार दुःखीले आफ्ना रचनामा परम्परागत पाराबाट मुक्त हुन खोज्नु भएको छ । वास्तविक घटना र क्रमको आभास दिनुभएको छ । साहित्यकार भित्रको दर्शन, कला, अन्तसघर्ष, कमजोरी, प्रकृति चित्रण, पदार्थवादिता, सामाजिक शोषण र कुरीति प्रतिको विद्रोहको भावना देश प्रेम र विकृति विरुद्धका आवाजहरु घन्केका छन् । कविता भन्दा कथा प्लट शैली र योजनामा बढी विशिष्ठता देखिन्छ । उहाँको कृतिको अध्ययनले उहाँ प्रतिको आदर र सम्मानभाव बढाएको छ । उहाँसंगका विगतका क्षणलाई मेरो वर्तमानले पछुईरहेको छ । अस्तु ।